केबी राना
नवलपुर, ६ श्रावण
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री वद्री पाण्डेले वर्तमान सरकार साझेदार भएपनि पनि आगामी निर्वाचनको प्रमुख प्रतिस्पर्धी दल एमाले नै हुने बताउनुभएको छ । ४३ औं विपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस नवलपुरद्वारा कावासोतीमा आयोजित वर्तमान सन्दर्भमा विपी विचार विषयक गोष्ठीलाई सम्बोधन गर्नुहुंदै मन्त्री पाण्डेले एमाले कांग्रेस सरकार साझेदार र निर्वाचनमा प्रतिस्पर्धा दुवै हुने बताउनुभयो ।
नेपाली कांग्रेस सह–महामन्त्री समेत रहनुभएका मन्त्री पाण्डेले ठूला दलहरु नमिल्दा तेश्रो शक्तिले चलखेल गर्ने र सरकार अस्थिर भई जनभावना अनुरुप काम गर्न नसकेकोेले सत्ता साझेदारी गर्नुपर्ने बाध्याता भएको बताउनुभयो । मुलुकको समृद्विका लागि २०८४ सम्म दुई दलको सरकार रहन्छ । अवको निर्वाचनमा प्रतिस्पर्धा गर्दा सत्तामा रहेका बेला एमाले भन्दा कांग्रेसका जनप्रतिनीधिले अब्बल काम गरेको एजेण्डा मुख्य हुनेछ । यसका लागि संघ/प्रदेशका मन्त्रीहरु, स्थानीय तहका जनप्रतिनीधिहरुले रचनात्मक र उत्कृष्ट नतिजा दिएर जनताको मन जित्नुपर्ने मन्त्री पाण्डेको भनाई छ ।
संस्कृति सम्बन्धि विधेयक पारितको चरणमा, पर्यटन सम्बन्धि विधेयक छलफलको क्रममा रहेको र आफ्नो मन्त्रालयसंग सम्बन्धित ९ वटा नयां विधेयकहरु ल्याउने तयारीमा रहेको मन्त्री वद्री पाण्डेले जानकारी दिनुभएको छ ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग संयोजक मिन विश्वकर्माले विपी कोईराला सर्वमान्य नेता भएकाले उहांको विचारलाई जिवन्त बताउने दायित्व कांग्रेसका वर्तमान पुस्ताको कांधमा रहेको बताउनुभयो । पाटीका कार्यकर्ताहरुले आफ्नो पाटीेले गरेका योगदान, नेतृत्वले गरेका विगतका विरासतको अध्यायन गर्ने, चर्चा गर्न छोडेर फेद टुप्पो नभएका दलहरुलेको हल्लाको पछि लाग्न नहुने नेता विश्वकर्माको भनाई थियो । विपी कोईराला जस्ता नेताको कार्यकर्ता हुन पाउंनु गौरवको विषय हो नेता विश्वकर्माले भन्नुभयो–सवै कार्यकर्ताहरु जिम्मेवार बने आगामी निर्वाचनमा कांग्रेसलाई कसैले हल्लाउन सक्दैन ।
नेपाली कांग्रेस नवलपुर जिल्ला सभापति महेन्द्रध्वज जिसीको अध्यक्षतामा भएको कार्यक्रममा युवा नेता प्रमोदहरी गुरागाई, नेपाली कांग्रेस गण्डकीका महामन्त्री विष्णु प्रसाद लामिछाने, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष ओम थापा, महिला नेतृ ओमकला गौतम, नेपाल महिला संघ नवलपुरका अध्यक्ष सरस्वती तिमिल्सिना, कांग्रेस जिल्ला उपसभापति चन्द्र बहादुर राना, बालकृष्ण घिमिरे, सचिव महेन्द्र पोख्रेल लगायतले विपी कोईरालाको योगदानका वारेमा चर्चा गर्नुभएको थियो । नेपाली कांग्रेसका नेता झपेन्द्रश्वर भुषालले वर्तमान सन्दर्भमा विपी विचार विषयक कार्यपत्र प्रस्तुत गर्दै विपि कोईरालाको राजनीतिक, आर्थिक, सामाजिक, सैद्वान्तिक विषयहरुको बारेमा चर्चा गर्नुभएको थियो ।